Categories समाचार

प्रशासन कार्यालय पर्सामै  मिटरब्याजी पीडितले गरे आत्मदाहको प्रयास

Advertisement

वीरगन्ज l जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार एक मिटरब्याजी पीडितले आत्मदाहको प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका–४ स्थायी घर भई हाल वीरगन्ज–२४ रामगढवामा बस्दै आएका ६० वर्षीय बृजकिशोर प्रसाद साहले कार्यालय परिसरमै आत्मदाह गर्न खोजेका हुन्।

दिउँसो साढे १२ बजे साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए। तर, त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई रोक्न सफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

Advertisement

हल्का विष सेवन गरिसकेका साहलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ।

Advertisement

साहले प्रहरीबाट न्याय नपाएको गुनासो गर्दै आत्मदाहको प्रयास गरेका थिए। घटनास्थलबाट फेला परेको पत्रमा उनले एक लाख ५० हजार रुपैयाँ ऋण लिएको तर छ लाख मूल्य बराबरको जग्गा अरूका नाममा पास गर्नुपरेको उल्लेख गरेका छन्। उनले उक्त रकम तिर्न खोज्दा पीडकले जग्गा फिर्ता गर्न अस्वीकार गरेको र प्रहरीले समेत साथ नदिएको आरोप लगाएका छन्।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार साहले यसबारे प्रहरी कार्यालयमा निवेदन दिएका थिए र मिलापत्रका लागि छलफल चलिरहेको थियो। घटनाबारे थप अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको उनले बताए।

उक्त घटनाका बेला जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *