Categories पत्रपत्रिका

मापसे चालकलाई १० हजार जरिवाना गर्ने कानुनको मस्यौदा

Advertisement

काठमाडौं l मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई अहिलेभन्दा थप २० गुणा बढी जरिवाना हुनेगरी कानुनको मस्यौदा तयार गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो।

आजको नागरिक दैनिकमा समाचार छ, मस्यौदामा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ। अहिले मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुगेको र कानुनले सहमति दिनेबित्तिकै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले बताए। मस्यौदामा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई गरिने जरिवाना विद्यमान ऐनमा तोकिएभन्दा धेरै बढी हुने व्यवस्था गर्न प्रस्ताव गरिएको मन्त्रालयको यातायात व्यवस्था शाखाका प्रमुखसमेत रहेका धामीले जानकारी दिए।

Advertisement

यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा मापसे गरी सवारीसाधन चलाएमा पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सजाय जरिवाना हुने व्यवस्था छ। तर नयाँ बनाउन लागिएको कानुनको मस्यौदामा मापसे वा नसालु पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई सिधै १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

Advertisement

यसैगरी निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपैयाँ जरिवाना हुने प्रस्ताव गरिएको छ। मस्यौदामा सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाईसमेत जरिवानाको व्यवस्था गरिएको छ। त्यस्ता पैदल यात्रुलाई पाँच सय रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। तोकिएका कागजातबिना सवारीसाधन चलाएमा एक हजार, मोबाइल फोनमा कुराकानी गर्दै सवारीसाधन चलाएमा एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

सवारीसाधनबाट सडकमा फोहोर फाल्ने यात्रुरचालकरसहचालकलाई एक हजार रूपैयाँ, चोरीको सवारीसाधन चलाएमा पचास हजार रुपैयाँ, सवारीचालक, परिचालक, सहचालक, यात्रु, पैदलयात्री तथा अन्य व्यक्तिलाई अशिष्ट अपमानजनक व्यवहार गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव मस्यौदामा राखिएको छ। यस्तो जरिवाना तोक्ने अधिकार यातायात निरीक्षक तथा प्रहरीलाई दिइएको छ।

धूमपान सेवन गर्दै सवारीसाधन चलाएमा एक हजार रूपैयाँ जरिवाना तोक्ने अधिकार प्रहरीलाई दिइएको छ। हेल्मेट र सिट बेल्टको प्रयोग नगरेमा एक हजार, अनधिकृत व्यक्तिले ट्राफिक संकेत राख्ने, झिक्ने, फेरबदल वा नष्ट गरेमा त्यस्तालाई पाँच हजारदेखि बीस हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।

मस्यौदामा ढोका खुला राखी सवारीसाधन चलाएमा तथा अवस्था ठिक नभएको सवारीसाधन चलाएमा त्यस्ता चालकलाई पाँच सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म जरिवाना तोक्न प्रस्ताव गरिएको छ। त्यस्तै मस्यौदामा तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएमा पाँच हजार रूपैयाँ तथा अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा पच्चीस हजार रूपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *