Categories पत्रपत्रिका

विपन्न बालबालिकाको मुटु उपचार निःशुल्क

काठमाडौँ l बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुधवार १५ वर्षमुनिका विपन्न बालबालिकाको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। अस्पतालको सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेका हुन ।

Advertisement

अस्पतालका कार्यकारी निर्देशक रवि मल्लले आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भन्ने उद्देश्यले अस्पतालको आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरिएको बताए ।

Advertisement

कार्यकारी निर्देशक मल्लले हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार सहायता दिँदै आइरहेको जानकारी दिए।

उनले उपचार लिनेको सङ्ख्या दैनिक बढेको भन्दै केन्द्रले आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको बताए ।

यो वर्ष पुस महिनासम्म ४८० बालबालिकाले गङ्गालाल हृदय केन्द्रबाट शल्यक्रिया सहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । “आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोउन् भन्ने हाम्रो हाम्रो चाहना हो,” मन्त्री पौडेलले भने, “यसका लागि थप स्रोतको खोजीसमेत गरिने छ ।”

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहसँग समेत सम्झौता गर्ने निर्णय गरेको छ । नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *