वीरगन्ज । वीरगन्जसहित मधेशमा आज चैती छठ पर्वको मुख्य दिन सझिया घाटको तयारी गरिँदै छ ।
चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।
कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझिया घाट’ भनिन्छ ।
आज सूर्य अस्ताउनु केही घण्टा पहिलेदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
व्रतालुहरू भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।






