Categories समाचार

मोरङको जहदाबाट ११ सय किलो गाँजा बरामद

Advertisement

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले बिहीबार दिउँसो ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट १ हजार १ सय २ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार जहदा गाउँपालिका–७ स्थित २७ वर्षीय उमेश कामतको घरमा लुकाइराखिएको अवस्थामा १ हजार ८८ किलो गाँजा फेला परेको छ।

Advertisement

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा गएको टोलीले खानतलासी गर्दा गाँजा बरामद गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सोही क्रममा कामतलाई पनि पक्राउ गरिएको छ।

Advertisement

त्यसैगरी, जहदा–५ निवासी ३३ वर्षीय अरविन साहको घरबाट समेत १४ किलो गाँजा बरामद भएको छ। इन्स्पेक्टर खनालकै टोलीले दिउँसो करिब २ बजेतिर छापा मार्दा साहको घरमा लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। प्रहरीले साहलाई समेत नियन्त्रणमा लिएको छ।

बरामद गरिएको गाँजा भारत पठाउने तयारी भइरहेको आशंका गरिएको छ। ‘जहदा नेपाल–भारत सीमासँगै जोडिएको क्षेत्र हो। गाँजा घरमा भण्डारण गरेर भारततर्फ पठाउन खोजिएको हुनसक्छ,’ डीएसपी जोशीले भने। उनका अनुसार गाँजा कहाँबाट ल्याएर भण्डारण गरिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।

प्रहरी स्रोतका अनुसार नेपालमा प्रतिकिलो २० हजार रुपैयाँसम्ममा किनबेच हुने गाँजा भारतमा पुर्याएपछि दोब्बर मूल्यमा बिक्री हुने गरेको छ।

धनकुटालगायतका पूर्वी पहाडी जिल्लामा अवैध रूपमा उत्पादन भएको गाँजा सीमाक्षेत्र हुँदै भारत तस्करी गरिने गरेको छ। प्रहरीकै मिलेमतोमा यस्तो कारोबार भइरहेको आशंका गरिएको छ।

बरामद गरिएको गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *