वीरगन्ज । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न भएको छ । निर्जल उपवास बसेका व्रतालुहरूले बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए ।
आजको दिनलाई पारन पनि भन्ने गरिन्छ । अघ्र्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ ।
कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
अघ्र्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।






