Categories समाचार

वीरगंजमा महानगर र व्यवसायीबीच सहमति, पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई

वीरगंज । वीरगंजलाई सफा, स्वच्छ र सुन्दर बनाउन जथाभावि पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरि फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् ।

वीरगंज महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच भएको छलफलमा पान पसलमा अनिवार्य डस्टवीन राख्ने, जथाभावी थुक्न र फोहोर गर्न नदिन लगाउने विषयमा व्यवसायी सहमत भएका छन् ।

Advertisement

यस्तै गुट्का तथा सुर्ती जन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा कडाइ गर्दै विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाउन विद्यालय र अस्पताल क्षेत्र वरपर विक्री गर्न नपाइने निर्णय गरिएको छ।

Advertisement

सार्वजनिक स्थानमा थुक्ने र जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै वीरगंजलाई सफा र स्वच्छ शहर बनाउने उद्देश्यले महानगरपालिकाले व्यवसायी संघसँग सहमति गरेर यो निर्णय गरेको हो।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भन्नु भयनो, “हामी वीरगंजलाई स्वच्छ, सफा र मर्यादित शहर बनाउनेतर्फ प्रतिबद्ध छौं। यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो हो।”

व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका, अस्पतालमा उपचार गरिरहेका बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पदार्थहरूको सीमित र अनुशासित विक्री प्रणालीमा सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

साथै व्यवसायी संघले नै पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न, र्यापर जथाभावी नफाल्न, फोहोर जथाभावी नगर्न भन्दै सचेतनामुलक जागरण र्याली प्रदर्शन गर्दै नागरिकमा सचेतना फैलाउने पनि प्रतिबद्धता जनाएका छन् ।

महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्रै आफ्नो व्यवसाय संचालन गर्न पनि उनीहरु तयार भएका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले महानगरले अब बजार अनुगमन गर्ने, नियम उल्लंघन भएमा कारबाही गर्ने र नागरिकबीच चेतना फैलाउने कामलाई तीव्र बनाउने बताउनु भयो ।

सार्वजनिक हितका लागि गरिएको यो पहलले वीरगंजको सफाइ अभियानमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *