Categories अन्तर्राष्ट्रिय

पाकिस्तानी मन्त्रीले भने– ३६ घण्टाभित्र भारतले हमला गर्न सक्छ

Advertisement

काठमाडौं l पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य हमला गर्ने योजना बनाएको बताएका छन् । बुधबार गुप्तचर निकायबाट उक्त सूचना पाएको तरारले बताएका हुन् । “भारतले पहलगाम घटनाको झुटो बाहाना बनाएर आउँदो २४ देखि ३६ घण्टाभित्र सैन्य हमला गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी हामीसँग छ,” तरारले सामाजिक संजाल एक्समा पोष्ट गर्दै भने, “भारतको कुनै पनि आक्रामक कदमलाई निर्णायक प्रतिकार गरिनेछ ।”

आक्रमण भएमा यो क्षेत्रमा हुने कुनै पनि गम्भीर परिणामको जिम्मेवारी भारतले लिनुपर्ने उनले बताएका छन् । गतहप्ता भारतको कश्मीरको पर्यटकस्थलमा २६ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमलामा पाकिस्तानको संलग्नता भएको भन्दै दुई देशबीच बढिरहेको तनावपछि यस्तो अवस्था विकास भएको रोयटर्सले जनाएको छ ।

Advertisement

उक्त हमलापछि दुवै परमाणु राष्ट्रहरूले एक–अर्काप्रति धेरै प्रतिबन्धात्मक कदम चाल्न थालेका छन् । भारतले महत्वपूर्ण सिन्धु नदी सन्धि निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय एयरलाइन्सहरूलाई आफ्नो वायुसीमा बन्द गरेको छ । भारतको विदेश मन्त्रालयले यसबारे तत्काल प्रतिक्रिया दिन चाहेको छैन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारीहरूलाई पक्राउ गर्ने र सजाय दिने प्रतिज्ञा गरेका थिए ।

Advertisement

पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले रोयटर्सलाई भारतको सैन्य आक्रमण चाँडै हुने निश्चित रहेको बताए । पाकिस्तान सतर्क अवस्थामा भएको र उक्त आक्रमणले पाकिस्तानको अस्तित्वमा सीधा खतरा हुने देखिएमा परमाणु हतियार प्रयोग गर्नसक्ने आसिफले राजधानी इस्लामाबादस्थित आफ्नो कार्यालयमा रोयटर्सलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भाग भनेर दाबी गर्दै आएका छन् । दुवै देशले कश्मीरको केही भागलाई मात्र नियन्त्रणमा राखेका छन् । यसको सम्पूर्ण क्षेत्र आफ्नो बनाउन दुवै देशले विभिन्न समयमा युद्ध पनि लडेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *