धादिङ l धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो ।
श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले सोही स्थानमा बस्दै आइरहेका मकवानपुरको राक्सिराङ–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमतीलाई मार्न ४ लाखको सुपारी दिए । अक्कले राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या खटिए । तर पटक–पटकको प्रयासपछि सुस्मिताको हत्या गर्न असफल भएपछि चुडामणिले छिटो काम गर्न नभए रकम फिर्ता गर्न अक्कललाई दवाब दिइ रहे ।
अन्ततः दवाब सहन नसकेर सुपारी दिने चुडामणिको नै अक्कलको समूहले हत्या गर्यो । गत चैत २७ गते राति चुडामणिको घाँटीमा डोरी कसिएको अवस्थामा भुई तलाको कोठा भित्रको एटेच बाथरुमा शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदै यो घटना सार्वजनिक भएको हो । धादिङ प्रहरीले पक्राउ परेका अक्कल, पृथलाल र सञ्चलाललाई आज सार्वजनिक गर्दै चुडामणिको हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले श्रीमतीलाई छिटो मार्न र नभए पैसा फिर्ता गर्न दवाब दिए पछि उनीहरुले चुडामणिको नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । उनका अनुसार अक्कल बहादुर प्रजाको साथबाट कोठाबाट एक लाख नगद, मृतकको घाँटीमा कसेको डोरी, मार्न प्रयोग भएको कोदालो, मृतकको फोन फुटाएर फालेको भन्ने स्थानबाट रेडमी फोनको टुक्रा भेटिएको छ । मृतकबाट प्राप्त रकमबाट किनिएको एकै किसिमको कपडा जुत्ता लगायतका सामग्री बरामद गरिएको प्रवक्ता हमालले बताए ।






