Categories समाचार

विवाह भएको ६ महिना नपुग्दै २१ वर्षीया दुलहीको शङ्कास्पद मृत्यु

Advertisement

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत विवाह भएको ६ महिना नपुग्दै एक जना मुस्लिम नवविवाहीता महिलाको शङ्कास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

कटहरिया ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया  ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शङ्कास्पद मृत्यु भएको हो। आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।

Advertisement

घटनाको खबर लगतै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

Advertisement

मृतकको पोस्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।

मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघि मात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि ज्वाइँ अरमानले निरन्तर दाइजोको लागी छोरी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएको थियो।

ज्वाइँ तथा उनको परिवारले दिने गरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्।

घटनामा संलग्न अरमान सहित सबैलाई पक्राउ गरी कडा कानुनी कारबाही हुनुपर्छ सानियाको माइती पक्षले माग गरेको छ। माइती पक्षले छोरीको  हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको  जनाएको छ ।

 इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना विरुद्धको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शङ्कास्पद भएको सङ्केत दिएका छन्। उनले घटनाको अनुसन्धान पछि मात्र यकिन साथ भन्नसक्ने अथवा कानुनी प्रक्रिया अगाडी बढाइने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *