Categories अन्तर्राष्ट्रिय

बसमा भीषण आगलागी हुँदा ५ यात्रुको जलेर मृत्यु

लखनउ l उत्तर प्रदेशको लखनउ नजिकै आज बिहान स्लीपर एसी बसमा भीषण आगलागी हुँदा ५ यात्रुको जलेर मृत्यु भएको छ। मृतकमध्ये दुई जोडी आमा–छोरी र बाबु–छोरी रहेको प्रहरी स्रोतले जनाएको छ।

घटना बिहान करिब ५ बजे मोहनलालगञ्ज क्षेत्रको किसानपथमा भएको हो। बस बिहारबाट दिल्लीतर्फ गइरहेको थियो, जसमा करिब ८० यात्रु सवार थिए। अधिकांश यात्रु निद्रामा रहेका बेला एक्कासी बसबाट धुवाँ निस्किन थाल्यो र केही मिनेटमै आगो फैलियो।

Advertisement

आगलागीपछि बसभित्र अफरातफरी मच्चिएको थियो। चालक र कन्डक्टर भने यात्रुहरूलाई नचेताई बस छाडेर भागेका थिए। बसको आकस्मिक गेट नखुल्दा यात्रुहरू फसेका र ओर्लन नसकेका कारण धेरैलाई उद्धार गर्न सकिएन। दुर्घटनामा फसेर ५ जनाको घटनास्थलमै मृत्यु भयो।

Advertisement

स्थानीय बासिन्दाले तत्काल प्रहरी र दमकललाई खबर गरे पनि दमकलको गाडी पुग्दासम्म बस पूरै जलिसकेको थियो। आगो निभाउन करिब ३० मिनेट लाग्यो। बसको भित्र भागमा पाँच वटा जलेका शव फेला परेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार आकस्मिक गेट नखुल्नु र सुरक्षा उपायको अभावले मानवीय क्षति बढाएको अनुमान गरिएको छ। यस घटनाले लामो दूरीका बस यात्राको सुरक्षा र आकस्मिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *