बिरगंज । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रक्तसञ्चार केन्द्र, बिरगंजमा रगतको अभाव गहिरिँदै गएको छ। विशेष गरी जेठ र असार महिनामा तापक्रम अत्यधिक बढ्ने मौसमसँगै रक्तदान कार्यक्रम घट्ने र रगतको माग उच्च हुने गरेकाले समस्या झनै गम्भीर हुने गरेको केन्द्रले जनाएको छ।
रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेका अनुसार, “हरेक वर्ष जेठ–असार तिर गर्मीको प्रभावले रक्तदान गर्नेहरूको संख्या घट्छ। यद्यपि हरेक ६/७ दिनमा आयोजना हुने रक्तदान कार्यक्रममा ५० देखि ६० जनासम्मले रक्तदान गरे तापनि, दैनिक १०० देखि १५० युनिट रगतको खपत हुने भएकाले सो मात्र पर्याप्त नहुने गरेको छ।”
पाण्डेले जानकारी दिएअनुसार, दैनिक मागमध्ये करिब ३०–३५ युनिट रगत बिरामीका आफन्तले खोजी ल्याउने गर्दछन् भने ५ देखि १० युनिट मात्र स्वेच्छिक रूपमा दान हुने गर्छ। बाँकी रगत भने केन्द्रले सामाजिक सञ्जाल, रक्तदाता समूह तथा फोनमार्फत आग्रह गरी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ।
रगतको कुनै विकल्प नभएकाले माग पूरा गर्न अत्यधिक मेहनत गर्नु परेको पाण्डेले बताए। “रक्तदान गर्नेभन्दा माग गर्नेहरूको संख्या धेरै हुँदा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ,” उनले भने।
पाण्डेका अनुसार, पछिल्लो समय केही व्यक्तिहरूले सामान्य स्वास्थ्य प्रक्रियाबारे जानकारी नहुँदा अनावश्यक दबाब, सिफारिस, स्रोत–साधन र कहिलेकाहीँ धम्कीपूर्ण व्यवहारसमेत देखाउने गरेका छन्, जसले काममा मानसिक तनाव थपिने अवस्था सिर्जना भएको छ। “हामी निरन्तर बिरामीका लागि जीवनदायिनी सेवा दिइरहेका छौं, तर स्रोत–सिफारिस र धम्कीका कारण काम गर्न झनै कठिन भइरहेको छ,” पाण्डेले गुनासो गरे।
यस्तो परिस्थितिमा, केन्द्रले सबै स्वास्थ्य सक्षम नागरिकहरूलाई रक्तदानमा सहभागी भई मानव जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न अनुरोध गरेको छ। तीन महिना पूरा भइसकेका नियमित रक्तदाताहरूलाई पुनः सम्पर्क गरी रगतदान गर्न, र नयाँ इच्छुक व्यक्तिहरूलाई केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।
रक्तदान गर्न चाहनेहरूले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, बिरगंजमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। थप जानकारीका लागि केन्द्रको सम्पर्क नम्बर ०५१–५२२५०४ मार्फत जानकारी लिन सकिने जनाइएको छ ।






