Categories समाचार

व्यस्त घण्टाघर चोकबाट दिनदहाडै लुटियो १ लाख ४० हजार, सुरक्षा व्यवस्थामाथि प्रश्न

Advertisement

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ निवासी ५५ वर्षीय जोगिन्द्र राउत कुर्मी दिनदहाडै लुटपाटको सिकार बनेका छन्। वीरगञ्जको अत्यधिक भीडभाडयुक्त र सुरक्षा निकायहरूको नियमित उपस्थिति रहने घण्टाघर क्षेत्रबाट रु. १ लाख ४० हजार लुटिएको छ।

कुर्मीले आफ्नो जग्गा धितो राखेर उठाएको रकम बैंकमा जम्मा गर्न आएका बेला उक्त घटना भएको हो। उनले वीरगञ्जको छपकैयास्थित मालपोत कार्यालयमा प्रक्रिया पूरा गरेपछि ई–रिक्साबाट घण्टाघर आएका थिए। तर, रिक्साबाट झर्दै गर्दा एक युवकले उनको झोलाबाट रकम लुटेर फरार भएको कुर्मीले बताएका छन्।

Advertisement

घटना वीरगञ्जको मुख्य चोकमा, जहाँ दैनिक सयौं नागरिकको आवतजावत हुने गर्दछ, घटेको हो। सो क्षेत्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको नियमित निगरानीमा रहने भए पनि यति सुरक्षित मानिएको स्थानमै लुटपाट हुनुले स्थानीय सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा भएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार घटनाको सत्यता पत्ता लगाउन सिसिटिभी फुटेजको अनुसन्धान भइरहेको छ। “हामी रकम लुटिएको पुष्टि गर्न सिसिटिभी फुटेज हेर्दै छौं, त्यसअनुसार अनुसन्धान अघि बढाउनेछौं,” लम्सालले बताए।

यो घटनाले वीरगञ्जको मध्यवर्ती क्षेत्रमा समेत सर्वसाधारणको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको संकेत दिएको छ। नागरिकहरूले सुरक्षित स्थानमा समेत ढुक्कसाथ हिँडडुल गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सुरक्षा निकायलाई तत्काल कडा कदम चाल्न आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *