वीरगञ्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालको आयोजनामा तथा श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा विश्व वातावरण दिवस २०८२ को अवसरमा सञ्चालन भइरहेको पाँचदिने कार्यक्रम अन्तरगत सोमबार दोस्रो दिनको घरदैलो, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, समाजसेवी भगवान श्रेष्ठ, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्य भोला प्रसाद, केदार गुप्ता, साबिर अन्सारी, शिक्षकगण तथा कक्षा ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रधानाध्यापक वर्णवालले प्रकृति बिना पृथ्वी र मानव जीवनको कल्पना गर्न नसकिने बताउँदै, हाम्रै प्रयासबाट वरपरको वातावरण सफा र सुग्घर बनाएर प्रकृतिको सम्मान गर्न सकिने बताए। उनले सबैलाई प्रकृति संरक्षण र सम्बर्द्धनमा सक्रिय हुन आह्वान गरे।
अध्यक्ष सिंहले भने, “यस वर्षको पाँचदिने कार्यक्रम जेठ १८ देखि २२ गतेसम्म बिहान ६ बजेदेखि विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको छ। विद्यालयदेखि अलौको मुख्य सडक, चौक, पसल क्षेत्र तथा भित्री टोलहरूमा सरसफाइ गर्दै स्थानीय बासिन्दालाई स्वच्छता र वातावरणीय सचेतनाबारे जानकारी दिइएको छ।”
कार्यक्रमका क्रममा विद्यार्थीहरूले व्यंग्य र मार्मिक शैलीमा हास्य–खुसीसाथ सरसफाइको महत्त्वबारे जनतालाई सम्झाउँदै प्रकृतिप्रतिको सम्मान गर्न अनुरोध गरेका थिए। उनीहरूको यो सक्रियता देख्दा सहभागीहरू भावुक र उत्साहित बनेका थिए।
अन्त्यमा संस्थापक अध्यक्ष सिंहले सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा प्रतिष्ठानका पदाधिकारीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गरेका थिए।






