वीरगन्ज । मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको पहलमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, राजपुर रौतहटको आर्थिक सहयोगमा सञ्चालन हुने छोटो अवधिको “वेटर/वेट्रेस” तालिम आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
वीरगन्ज स्थित मधुशाला रेस्टुरेन्टमा आयोजित उद्घाटन कार्यक्रममा तालिमका प्रशिक्षक केशव महत तथा सहायक प्रशिक्षक राजन श्रीवास्तवको उपस्थितिमा तालिम प्रारम्भ गरिएको हो।
तालिम सञ्चालनमा क्रीएटिभ स्किल्स प्रा.लि.को प्राविधिक साझेदारी रहेको छ भने सहजीकरण राधा हमालले गरिरहेकी छन्।
३२ दिनको अवधी रहने यस तालिममा २० जना सहभागीले होटल तथा रेस्टुरेन्ट सेवा क्षेत्रसँग सम्बन्धित व्यवहारिक सीप तथा दक्षता हासिल गर्नेछन्।
तालिममा सहभागीहरूलाई ग्राहक सेवा, भोजन सेवा शिष्टाचार, सरसफाइ, तालमेल तथा व्यावसायिक प्रस्तुतीकरण सम्बन्धी ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमको उद्देश्य स्थानीय युवाहरूलाई रोजगारीमूलक सीपमा अभिप्रेरित गर्दै आत्मनिर्भर बनाउने रहेको तालिम आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए। तालिम अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्याससहितको प्रशिक्षण प्रदान गरिनेछ।
यस तालिमबाट सहभागीहरूले सेवा क्षेत्रमा रोजगारी तथा स्वरोजगारको सम्भावना बढाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।






