वीरगञ्ज। प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा विश्व वातावरण दिवस–२०८२ को अवसरमा आयोजना गरिएको पाँचदिने कार्यक्रमअन्तर्गत मंगलबार तेस्रो दिनको घरदैलो सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
“आजको सरसफाइ, एक जनचेतना कार्यक्रम” भन्ने मूल नारासहित सञ्चालन भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, प्रतिष्ठानका सदस्यहरू लालबाबु सिंह, भोला प्रसाद, केदार गुप्ता, शिक्षकहरू तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत विद्यालयदेखि सुगौली बिर्ता टोलसम्मको क्षेत्र, घर–पसल, सडक र सार्वजनिक स्थानहरूमा सरसफाइ गरी वातावरणको संरक्षण तथा सम्मानप्रति जनचेतना फैलाउने प्रयास गरिएको थियो। प्रतिष्ठानका सह–सचिव अविनाश झाले सरसफाइ अभियानको उद्देश्य प्रकृति र वातावरणप्रति उत्तरदायी बन्न स्थानीयहरूलाई प्रेरित गर्नु रहेको बताए।
अध्यक्ष सिंहले विश्व वातावरण दिवस (५ जुन) को अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि जेठ १८ देखि २२ गतेसम्म बिहान ६ बजे विभिन्न स्थानहरूमा विविध कार्यक्रम सञ्चालन गरिंदै आएको जानकारी दिए। उनले विद्यालयदेखि सुगौलीको मुख्य सडक, चौक, घर, पसल तथा टोलको भित्री भागमा सरसफाइ गर्दै स्थानीय बासिन्दालाई सरसफाइको महत्व र त्यसप्रति सचेत रहन आग्रह गरिएको बताए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले व्यंग्य, गीत, हाँस्य र भावनात्मक प्रस्तुतिहरूमार्फत सरसफाइ र वातावरण संरक्षणप्रति जनचेतना फैलाए। स्थानीय अग्रज महिला तथा युवाहरूले भावुक हुँदै सफाइ अभियानमा साथ दिन पाउँदा खुशी व्यक्त गरे तथा आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष सिंहले आभार प्रकट गरेका थिए।






