काठमाडौं । आन्दोलनको कारण सहर सुनसान छ। सडकमा सवारीसाधन चलेका छैनन्। स्टपमा उभिएका यात्रुहरू अनुहारमा अन्योल र चिन्ता बोकी गन्तव्य पुग्ने आशामा छन्। तर यस्तो कठिन घडीमा, उनीहरूलाई सहारा बनेर आइपुग्छ एउटा बस— प्रहरीको।
बसको ढोका खुल्छ।
“नमस्कार! आउनुस्, बस्नुस्,” — बस चालक प्रहरीको नम्र स्वर।
थकित यात्रुहरू बसमा चढ्छन्, ओर्लँदा सबै एकै स्वरमा भन्छन्, “धन्यवाद! सलाम छ तपाईंलाई।”
यो केवल यात्रु ओसार्ने कार्य होइन— यो राज्य र जनताबीचको आपसी विश्वास र सहकार्यको प्रतिक हो। जब आन्दोलनले सहरको गति ठप्प बनाएको छ, त्यतिबेला प्रहरी र सशस्त्र प्रहरीका बसहरूले जनताको यात्रा अघि बढाइरहेका छन्।
प्रहरी : नियम कार्यान्वयन मात्र होइन, सेवामा पनि समर्पित
सामान्यतया नियम पालना गराउने भूमिकामा देखिने प्रहरी आज सेवामा समर्पित मित्रको रूपमा अगाडि आएको छ। जनताका पीडा र आवश्यकता बुझेर उनीहरू सहयोगका हात फैलाइरहेका छन्।
गन्तव्य नपुग्दा खिन्न भएका अनुहारमा प्रहरीको सहयोगले फेरि मुस्कान फर्किएको छ। प्रहरी बस चढ्दा यात्रुहरू नमस्कार सुनिरहेका छन्, ओर्लिँदा आदरपूर्वक सलाम व्यक्त गरिरहेका छन्।
जनताप्रतिको समर्पण
प्रहरीको यस्तो सक्रियता संकटको समयमा मात्र होइन, जनसेवामा उनीहरूको गहिरो प्रतिबद्धताको प्रमाण पनि हो।
सहर थला परेको छ, तर सेवामा समर्पित सुरक्षाकर्मीहरूको सहयोगले जनजीवन अझै अगाडि बढिरहेको छ। यो दृश्य राज्य र जनताबीचको सम्बन्धमा नयाँ विश्वास र सम्मानको आधार बनिरहेको छ।






