वीरगञ्ज । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा सचेतनामूलक अभियानको औपचारिक उद्घाटन गरिएको छ।
अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय संयोजक नजबुल खानले गर्नुभयो। प्रमुख अतिथिको रूपमा वीरगञ्ज महानगरपालिका प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिल कुमार कर्णको उपस्थिति रहेको थियो।
महिलालाई ठेगानामूलक पहिचानबाट हटेर आफ्नै वास्तविक नामबाट सम्बोधन गरिनुपर्छ भन्ने उद्देश्यसहित अभियान सुरु गरिएको आयोजक पक्षले जानकारी दिएको छ।
कार्यक्रममा जातीय विभेद, पहिचानको अपमान र छुवाछुतजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सचेतनामूलक पहल आवश्यक रहेकोमा वक्ताहरूले जोड दिए।
कार्यक्रममा महिला तथा बालकल्याण शाखाकी सावित्री कुँवर भण्डारी, निर्मला पोख्रेल, सुधीरजंग राणा, रातो पाना न्यूजका प्रबन्ध निर्देशक अमित अग्रवाल, सामाजिक शाखा अधिकृतहरू बुद्धिमाया गुरुङ र काजल परियारलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
वक्ताहरूले यस्ता अभियानहरू समाजको समावेशीकरण, सम्मान र समानताको सुनिश्चितताका लागि अत्यन्त आवश्यक रहेको बताए। कार्यक्रमले जातीय र लैंगिक पहिचानका आधारमा हुने विभेद विरुद्ध जनचेतना जगाउने विश्वास लिइएको छ।
आयोजकले अभियानलाई प्रदेशभर विस्तार गर्ने तयारी गरेको जनाइएको छ।






