वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वातावरण संरक्षण र हरियाली प्रवर्द्धनतर्फ द्रुतगतिमा अघि बढिरहेको छ।
महानगरपालिकाको अग्रसरता र जनसहभागिताका कारण वीरगञ्ज सहर क्रमशः सफा, हराभरा र वातावरणमैत्री बन्ने दिशामा अघि बढिरहेको छ।
महानगर क्षेत्रभित्र हालसम्म करिब २० हजार भन्दा बढी विभिन्न प्रजातिका विरुवाहरू रोपिएको वातावरण तथा हरियाली प्रवर्द्धन शाखाका प्रमुख प्रकाश ऐरले जानकारी दिनुभयो।
उहाँका अनुसार यस वर्षको मनसुनलाई लक्षित गरी झण्डै २० हजार थप विरुवाहरू संकलन गरिएका छन्, जसलाई सहरका विभिन्न स्थानमा रोप्ने तयारी भइसकेको छ।
वृक्षारोपणमा विविध प्रजातिका विरुवाहरू
सहरका खुला स्थानहरू, पार्कहरू, सडक किनाराहरू लगायतका क्षेत्रमा समी, कपूर, गुलमोहर, कल्कि, टिक, राजवृक्ष लगायतका ५ फिटभन्दा अग्ला विरुवाहरू रोपिएका छन्। वृक्षारोपण गरिएका विरुवाहरूको संरक्षणका लागि नियमित पाँचवटा ट्यांकरहरूलाई निश्चित रुट तोकी पानी सिंचाइको व्यवस्था गरिएको छ।
वृक्षारोपण भएका प्रमुख क्षेत्रहरू
वृक्षारोपण अभियान अन्तरगत बसपार्क, बाइपास सडक, आइसिपी सडक, गण्डक–परवानीपुर मार्ग, भन्सार क्षेत्र, ग्रामीणक्षेत्र लगायतका स्थानहरू समेटिएको छ। यी क्षेत्रहरूमा हरियाली विस्तारसँगै सौन्दर्यकरण र वातावरण सन्तुलन कायम गर्ने लक्ष्य लिइएको छ।
नेतृत्वको दृष्टिकोण
नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई हरियाली र सफा सहरको रुपमा विकास गर्नु महानगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। “वातावरण संरक्षणको जिम्मेवारी हामी सबैको हो,” उहाँले भन्नुभयो, “हरेक नागरिकको सहयोगमा वीरगञ्जलाई हराभरा, स्वच्छ र पर्यावरणमैत्री बनाउने हाम्रो दृढ संकल्प छ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले वातावरण सुधारका लागि महानगरले गरिरहेका योजनाबद्ध प्रयासहरू उल्लेख गर्दै भन्नुभयो, “यो अभियान केवल वृक्षारोपणमा सीमित छैन, यसले नगरवासीहरूमा वातावरणप्रतिको चेतना र जिम्मेवारी पनि बढाउनेछ।”
वीरगञ्ज महानगरपालिकाको हरियाली अभियानले अबको केही वर्षमा वीरगञ्जलाई एक स्वच्छ, हरित र दिगो सहरको रुपमा उभ्याउने लक्ष्य राखेको छ। वातावरण र जीवनस्तर सुधारमा महानगरको यो पहल प्रेरणादायी बन्दै गएको छ।






