वीरगंज । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा वीरगंज महानगरपालिकाले विभिन्न स्थानहरूमा वृक्षारोपण तथा हरियाली प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ।
महानगरपालिकाले आदर्शनगरको शंखधर सख्वा पार्कमा हरियाली प्रवर्द्धनको उद्देश्यले ६० वटा गुलमोहरका विरुवा र १५ वटा समी (Ficus benjamina) का विरुवा रोपेको हो।
त्यसैगरी, वार्ड नं. १५ स्थित नयाँ बसपार्कको फुटपाथ क्षेत्रमा पनि ६० वटा समीका विरुवाहरू रोपिएको छ। वृक्षारोपण कार्यक्रम वीरगंज महानगरपालिकाका कर्मचारी र नगर प्रहरीको सक्रिय सहभागितामा सम्पन्न भएको हो।
यसका साथै, महानगरपालिकाले विभिन्न जातका विरुवा तथा फलफूलका विरुवाहरू समेत वितरण गरेको छ।
वातावरण तथा हरियाली प्रवर्द्धन शाखाका प्रमुख प्रकाश ऐरका अनुसार, यस वर्षको वातावरण दिवसको मूल नारालाई — “प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व” — आधार मानी पुनः प्रयोग गर्न मिल्ने झोलाको वितरण कार्यक्रम समेत सञ्चालन गरिएको छ।
महानगरपालिकाका विभिन्न महाशाखा तथा शाखाहरूमा इनडोर बिरुवा (घरभित्र राख्न मिल्ने बिरुवा) वितरण कार्यक्रम समेत आयोजना गरिएको ऐरले जानकारी दिनुभयो।






