वीरगंज । विश्व वातावरण दिवसको अवसरमा वीरगंज महानगरपालिका स्थित सुख्खा बन्दरगाह (ICP) टर्निङ क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका, भारतको महावाणिज्य दूतावास वीरगंज, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० वीरगंज तथा राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि भारतका महावाणिज्य दूतावास वीरगंजका प्रमुख डी.एस. मिना रहेका थिए। कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए।
नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी तथा गैर–सरकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका करिब ३५० वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली विस्तार तथा सामुदायिक सहभागिता अभिवृद्धिको सन्देश प्रवाह गर्न सकिएको आयोजकको भनाइ छ।






