Categories शिक्षा समाचार

वडाध्यक्ष यादवले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरी दिए शिक्षामा भरोसाको सन्देश

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले सामुदायिक विद्यालयप्रति विश्वास दर्शाउँदै आफ्नी छोरीलाई निजी विद्यालयमा नभई वडाकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालपर्सा ३० को शिशु कक्षामा भर्ना गराएका छन्।

आर्थिक हैसियतका हिसाबले छोरीलाई जुनसुकै निजी विद्यालयमा पढाउन सक्ने सामर्थ्य हुँदाहुँदै पनि यादवले सामुदायिक शिक्षामा उदाहरणीय प्रतिबद्धता जनाएका हुन्।

Advertisement

हालै आयोजित एक सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै उनले भने, “छोरीलाई सामुदायिक विद्यालयमा पढाउनु भनेको मैले नेतृत्व गरिरहेको वडाको शिक्षासँग प्रत्यक्ष रूपमा जोडिनु हो। परिवर्तन भाषणले होइन, व्यवहारले आउँछ।”

Advertisement

वडाध्यक्ष यादव विगतमा यही विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा काम गरिसकेका सामाजिक अभियन्ता हुन्। उनले वडा प्रमुख बनेपछि स्वास्थ्य, शिक्षा र रोजगारलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा लिएका छन्। सामुदायिक विद्यालयमा छोरी भर्ना गरेर उनले व्यक्तिगत जीवनबाटै उदाहरण पेश गरेका छन्।

विद्यालय प्रशासनका अनुसार वडाध्यक्षको यो निर्णयले अभिभावक र समुदायमा नयाँ भरोसा जन्माएको छ। विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने, “वडाध्यक्षज्यूको निर्णयले सामुदायिक विद्यालयप्रति विश्वास बढेको छ। अब अभिभावकहरू पनि सामुदायिक शिक्षाप्रति आशावादी छन्।”

यादवले वडास्तरीय बजेटमा पनि विद्यालयको पूर्वाधार विकास, शैक्षिक सामग्रीको उपलब्धता र पठनपाठनको गुणस्तर वृद्धिमा प्राथमिकता दिँदै आएका छन्। उनका अनुसार सामुदायिक विद्यालय सुदृढ भएमा मात्रै समाजमा शिक्षाको समान अवसर सम्भव छ।

उनको यो निर्णयले वीरगन्जमा मात्र नभई देशैभरका जनप्रतिनिधिहरूका लागि पनि सामुदायिक शिक्षामा प्रतिबद्धता देखाउने प्रेरणा दिने विश्लेषकहरूको धारणा छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *