पर्सा । नेकपा (एमाले) का केन्द्रीय समिति सदस्य, पर्सा जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य प्रभु हजराको पहलमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पर्सा जिल्लाका विभिन्न स्थानमा करोडौं रुपैयाँ बराबरका विकास योजना समावेश गरिएको छ।
नेकपा (एमाले) पर्साका सचिव महेश दासका अनुसार सांसद हजराको सक्रियतामा वीरगञ्ज महानगरपालिका वडा नं. २० को गढीमाई मन्दिरदेखि स्तरोन्नतिको लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, वडा नं. २१ स्थित पटेलनगर र वडा नं. ३१ सोलकपुरमा सडक स्तरोन्नतिका लागि छुट्टाछुट्टै ३/३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
सचिव दासले थप जानकारी दिँदै वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा अवस्थित भुटनदेवी माई मन्दिर परिसरमा पार्क निर्माणको लागि १ करोड २८ लाख रुपैयाँको बजेट विनियोजन भएको बताए। सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) महानगरपालिकाले तयार गरिसकेको छ।
यस्तै, वडा नं. ११ मा रहेको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि पनि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सांसद हजराले संघीय सरकारमार्फत पर्सा जिल्लामा ठूला विकास योजनाहरू ल्याउन पहल गर्दै आएको र आगामी दिनमा पनि जनताको आवश्यकता र मागअनुसार थप विकास योजनाहरू कार्यान्वयन गरिने सचिव दासले बताए।






