Categories समाचार

शंखधर साख्वा पार्कको निर्माण तथा सौन्दर्यकरण अन्तिम चरणमा, भोलि साँझ उद्घाटनको तयारी

Advertisement

वीरगन्ज l वीरगन्ज महानगरपालिका–४ स्थित शंखधर साख्वा पार्कको निर्माण तथा सौन्दर्यकरणको कार्य अन्तिम चरणमा पुगेको छ। पार्कको भोलि (शनिबार) साँझ विशेष कार्यक्रमबीच उद्घाटन गरिने तयारी भइरहेको छ।

सौन्दर्यकरण अन्तर्गत पार्कको भित्ताभरि ऐतिहासिक र धार्मिक स्थलहरूको आकर्षक चित्रकला बनाइएको छ भने रंगरोगनले थप मोहक बनाइएको छ। विभिन्न प्रजातिका बिरुवा, रंगीचंगी फूलहरू रोपिएर वातावरणलाई हराभरा र मनमोहक बनाइएको छ।

Advertisement

पार्कको चारैतिर झिलिमिली बत्ती जडान गरिएको छ भने फाउन्टेन सञ्चालनमा ल्याइएको छ, जसले साँझपख पार्कको सौन्दर्य झन् निखारिएको छ। विशेष गरी बिहान र बेलुकीको घुमघामका लागि यो पार्क उपयुक्त गन्तव्य बन्ने विश्वास लिइएको छ।

Advertisement

पार्कभित्र खेलकुदका विभिन्न उपकरण जडान गरिएको छ, जसले बालबालिकादेखि युवासम्मको आकर्षण थप्नेछ। साना बालबालिकाका लागि झुला, मोटुपत्लु तथा जनावरहरूको मूर्ति जडान गरी रमाइलो वातावरण सिर्जना गरिएको छ। यसले बालबालिकाको मनोरञ्जनसँगै सिर्जनात्मक विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहले तीव्र तयारीको अनुगमन गर्दै पार्कको विकासले वीरगन्जको पर्यटन तथा खेलकुद प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालबालिका तथा वृद्ध–वृद्धाका लागि सुरक्षित, रमाइलो र स्वच्छ वातावरण उपलब्ध गराउनु महानगरको प्राथमिकतामा परेको बताउनुभयो।

पार्कको नाममा रहेका जग्गाहरू विगत लामो समयदेखि अतिक्रमणमा परेका थिए। महानगरपालिकाले ती अतिक्रमित भू–भागहरूलाई कानूनी प्रक्रिया पुर्‍याएर खाली गराई पार्कको स्वरूप पुनः निर्माण गरेको हो।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै नागरिकलाई खुला, हरियालीयुक्त र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले पार्कको पुनः संरचना गरिएको महानगरले जनाएको छ। यस कदमले न केवल पार्क विस्तारमा योगदान पुर्‍याएको छ, तर सार्वजनिक जग्गा संरक्षणको उदाहरणीय कार्यको रूपमा पनि स्थापित भएको छ।

महानगरको यो पहलले शहरको वातावरणीय सन्तुलन, बालबालिका तथा वृद्ध–वृद्धाको स्वास्थ्यप्रद जीवनशैली र सामाजिक मेलमिलापको अवसर विस्तार गर्ने विश्वास लिइएको छ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, मधेस विश्वविद्यालयका डा. दीपक शाक्य, प्रविधिक सल्लाहकार प्रकाश अमात्य, हरि पोख्रेललगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *