वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन आउने नागरिकहरू लामो लाइन, अत्यधिक गर्मी र अव्यवस्थित सेवाका कारण समस्यामा परिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीद्वारा दिइने सेवाका लागि सेवाग्राहीहरू बिहानैदेखि पालो कुर्न बाध्य भइरहेका छन् भने केही चिनिएका व्यक्तिहरूले पालो मिच्ने, सिधै भित्र छिर्ने जस्ता गतिविधिका कारण आम नागरिकहरू थप असहज महसुस गरिरहेका छन्।
यिनै गुनासोहरू बढ्दै गएपछि नगर प्रमुख राजेशमान सिंहले छड्के अनुगमन गर्दै सेवाको वास्तविक अवस्था अवलोकन गरेका छन्। अनुगमनका क्रममा उनले सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गरी समस्याहरू सुने र सम्बन्धित कर्मचारीहरूलाई तत्काल सुधारको निर्देशन दिएका छन्।
नगर प्रमुख सिंहले सेवा सहज, मर्यादित र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै भने, “सेवा लिन आउने प्रत्येक नागरिकप्रति सम्मानजनक व्यवहार हुनुपर्छ। उनीहरूलाई सहज सेवा उपलब्ध गराउनु महानगरको दायित्व हो।”
गर्मीका कारण सेवाग्राहीहरूलाई थप सास्ती नहोस् भनेर उनले प्रतीक्षा स्थलमा ‘कुलर’को व्यवस्था गर्न पनि सुझाव दिएका छन्। सिंहले कर्मचारीहरूलाई जिम्मेवार र नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै सेवा प्रक्रियामा सुधार ल्याउने प्रतिबद्धता जनाए।
नगर प्रमुखको यो सक्रियता र तत्परतालाई सेवाग्राहीहरूले सकारात्मक रूपमा लिएका छन्। आगामी दिनहरूमा सेवा प्रवाह अझ व्यवस्थित र प्रभावकारी हुने जनअपेक्षा बढेको छ।






