वीरगन्ज । अंजुमन इस्लामिया मुर्लीले हरेक वर्षझैँ यस वर्ष पनि ईद उल अजहा (बकरिद) पर्वको अवसरमा मंगलबार वीरगन्ज–मुर्लीस्थित जामा मस्जिद प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्ने व्यक्तिहरूमध्ये असरफ अली अन्सारी, जावेद अन्सारी, रियाज अन्सारी, अकबर अन्सारी लगायत अन्य दाताहरूले आफ्नो अमूल्य रगतदान गरी मानवताको भावनालाई अझ सशक्त बनाएका छन्।
कार्यक्रम अंजुमन इस्लामिया मुर्लीका अध्यक्ष तथा समाजसेवी हाजी सत्तार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अतिथिको रूपमा सलाउद्दिन अन्सारी, कबीर अन्सारी, मुरतुजा अन्सारी, हासिम मन्सुरी लगायत स्थानीय अग्रज युवा तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा अध्यक्ष अन्सारीले भने, “रक्तदान यस्तो कार्य हो, जहाँ जात, धर्म, धनी–गरिब वा उच–निच केही पनि हेर्ने गरिँदैन, केवल मानवता हेर्ने गरिन्छ। यसले जीवन बचाउँछ, त्यसैले यसलाई जीवनदान पनि भनिन्छ।” उनले सबैलाई नियमित रुपमा रक्तदान गर्न आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरूलाई आभार प्रकट गरे।
कोषाध्यक्ष तथा युवा समाजसेवी असलम अन्सारीले पनि हालको गर्मीको समयमा वीरगन्ज तथा आसपासका क्षेत्रहरूमा रगतको अभाव देखिएको उल्लेख गर्दै, यही कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। उनले सबैलाई आ–आफ्नो क्षेत्रमा रक्तदान गर्न प्रेरित गर्दै सहयोगी सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरे।
रक्तसञ्चार केन्द्र, वीरगन्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक स्वयंसेवक टोलीले रक्तदाताहरूलाई आवश्यक सहयोग प्रदान गरेका थिए।
उक्त कार्यक्रमले समुदायमा मानवता र सामाजिक उत्तरदायित्वबोध बढाउने दिशामा सकारात्मक सन्देश दिएको छ।






