वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा अवैध रूपमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको सामान नियन्त्रणमा लिएको छ।
मंगलबार बजरंगटोल, वीरगञ्ज–१० स्थित तीन तले घरको ग्राउण्ड फ्लोरमा भाडामा लिएको गोदामबाट धिरज रौनियारले राखेको रु. ७ लाख ७० हजार ५ सय बराबरका कपडा र सुपर स्प्लेन्डर ब्राण्डको भारतीय नम्बर BR05U4530 मोटरसाइकल बरामद भएको छ।
मोटरसाइकलको मूल्य रु. १ लाख ५० हजार मुल्याङ्कन गरी उक्त सामान भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिकाका अन्य दुई स्थानबाट पनि रु. २ लाख ४८ हजार १ सय बराबरका कपडा र मसलाहरू नियन्त्रणमा लिएर कारवाहीका लागि बुझाइएको छ।
आजै सशस्त्र प्रहरी बलको गुल्म अलौ टोलीले बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीबाट भारततर्फबाट भन्सार छल्दै आएको BR 22 T1432 नम्बरको मोटरसाइकल र रु. २३ हजार ३ सय ८० बराबरको किराना सामान नियन्त्रणमा लिएको छ। मोटरसाइकलको मूल्य रु. १,८०,००० मुल्याङ्कन गरी सामानसँगै भन्सार कार्यालयमा बुझाइएको छ।
सुचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार थप अनुसन्धान र कानुनी कारवाही जारी रहेको छ।






