Categories पत्रपत्रिका

ओलीको कटाक्ष, भण्डारीको ‘काउन्टर’

Advertisement

काठमाडौँ l पार्टी राजनीतिमा सक्रिय हुने चाहना राखेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्तारै चुनौती दिन थालेकी छन्।

एमाले अध्यक्ष ओलीले आइतबार कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका अवसरमा भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै उनका पक्षमा नखुल्न नेता–कार्यकर्तालाई घुमाउरो पारामा चेतावनी दिएका थिए। ओलीले भनेका थिए, ‘अर्को खेल हुन खोज्या छ यहाँ, अब फलाना आउने अरे, फलाना आउने रे।’

Advertisement

भण्डारीले पनि मंगलबार विराटनगरमा ओली अभिव्यक्तिलाई ‘काउन्टर’ दिँदै आफूले जिल्ला जाँदा एमालेलाई सोध्नुनपर्ने बताएकी हुन्। उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएकी हुन्।

Advertisement

भण्डारी राष्ट्रपति हुनुभन्दाअघि एमालेको उपाध्यक्ष थिइन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउने चाहना राखेकी उनले अघिल्लो वर्ष चारवटा प्रदेशको अनौपचारिक भ्रमण गरी नेता–कार्यकर्तासँग भेट गरेकी थिइन्।

यो वर्ष पनि जिल्ला भ्रमणका क्रममा उनी शनिबार कोसी प्रदेश राजधानी विराटनगर हुँदै झापा पुगेकी थिइन्। उनलाई विराटनगर र झापामा नेता–कार्यकर्ताले राम्रैसँग स्वागत गरेपछि ओलीले नेता–कार्यकर्तालाई अहिले नै महाधिवेशन लागिनसकेको भन्दै अप्रत्यक्ष रुपमा भण्डारीको जिल्ला भ्रमणप्रति असन्तुष्टि जनाएका हुन्।

भण्डारीलाई विराटनगर विमानस्थलमा सञ्चारकर्मीले ‘तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भुइँचालो जान्छ’ भनेर सोधेपछि जवाफमा भण्डारीले आफू पालिकाका उपप्रमुख÷उपाध्यक्षहरूको राष्ट्रियस्तरको कार्यक्रममा सहभागी हुन आएको बताएकी थिइन्। उनले आफूले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु नपर्ने भनाइ पनि राखिन्।

उनले भनिन्, ‘पूर्वमा म दुईवटा कार्यक्रमको सन्दर्भमा आएकी हुँ। पालिकाका उपप्रमुख/उपाध्यक्षहरूको राष्ट्रियस्तरको कार्यक्रम थियो। त्यसको सन्दर्भमा म आएकी हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका थिए। मलाई पनि त्यसमा रुचि थियो। उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठुलै छ। समाजका अरूअरू क्षेत्रहरूमा पनि चिनजान हुन्छ। जनताका आकांक्षा बुझ्न म लागेको छु। मलाई देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’

चीन भ्रमणबाट फर्केपछि कोसी प्रदेश पुगेकी भण्डारीले एमाले नेता–कार्यकर्ताहरूसँग भेट गरेकी थिइन्। एमाले नेताको हैसियतमा भण्डारी चीन भ्रमणमा पुगेकी थिइन्। चीनमा उनले एमाले नेताको हैसियतमै आफ्ना धारणा राखेकी थिइन्। उनले चिनियाँ नेताहरूसँग मदन भण्डारीको जनताको बहुदलीय जनवादबारे धारणा राखेकी थिइन्।

भण्डारीले पूर्वी नेपालका जिल्ला पुगेर नेता–कार्यकर्तासँग भेट गरिरहेका बेला यता काठमाडौंमा ओलीले तीव्र असन्तुष्टि पोखेका थिए। ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ ओलीले भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै भनेका थिए, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’

उनले महाधिवेशन मिति घोषणा भइनसक्दै सरसल्लाह नै नगरी बाहिर हल्ला चलाएको भन्दै आक्रोश पोखेका थिए। उनले भनेका थिए, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन।’

यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खोजे सह्य नहुने उनको चेतावनी थियो। ‘अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईंहरू सोझै जवाफ दिनुस्,’ ओलीले भने।

पार्टीभित्र समूहका नाममा भइरहेको हल्लाको जवाफ दिन पनि उनले कार्यकर्तालाई आग्रह गरे। ‘तलतल यो ग्रुप भन्या छन्, त्यो ग्रुप भन्या छन्। यो ग्रुप र त्यो ग्रुपको आवश्यकता नै छैन,’ उनले भने, ‘तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नु होला।’

कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी शनिबार झापा पुगेकी थिइन्। झापामा उनलाई एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टी उपाध्यक्ष शिव ढुंगेलललगायतले भण्डारीलाई स्वागत गरेका थिए।

उनीहरूले आफूले भण्डारीलाई पार्टी अध्यक्षको रूपमा हेर्न चाहेको भन्दै पार्टी राजनीतिमा फर्कन आग्रह गरेका थिए। विराटनगरबाट झापा जानेक्रममा भण्डारीसँग एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी र सहसचिव देवान राई थिए। भण्डारीले झापामा नेता–कार्यकर्तासँग पनि भेटघाट गरिन्।

भेटवार्तामा युवा संघको केन्द्रीय सदस्यमा ओली समूहबाट पराजित रोजिना पाण्डे, पूर्वसांसद पवित्रा खरेल, नेत्री निता घतानी, बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईं, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेलगायत सहभागी थिए।

झापा ओलीको गृहजिल्ला हो। आफ्नो गृहजिल्ला पुगेर भण्डारीले राजनीतिक भेटघाट गरेपछि ओली आक्रोशित भएको नेता–कार्यकर्ताको बुझाइ छ। पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने चाहना राखेपछि ओली संशकित भएका छन्।

आजको  नागरिक दैनिकमा प्रकाशित छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *