वीरगन्ज । मधेस प्रदेशमा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। गर्मीको चाप यति धेरै बढेको छ कि नागरिकहरू दिनको समयमा बाहिर निस्कनै नसक्ने अवस्थामा पुगेका छन् भने राति पनि गर्मीका कारण सामान्य निद्रा लाग्न कठिन भइरहेको छ।
पर्सा, बारा, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लामा तापक्रम करिब ४० डिग्री सेल्सियससम्म पुग्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गर्मीका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी प्रभावित भएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय अत्यन्तै कठोर हुने गरेको छ। बजार, सडक तथा सार्वजनिक स्थलहरूमा चहलपहल घटेको छ।
रातिको समयमा पनि उच्च तापक्रमका कारण मानिसहरूलाई सुत्न कठिन भइरहेको छ। विद्युतीय पंखा र कूलरको प्रयोग अत्यधिक बढेको छ, जसले विद्युत् आपूर्तिमा समेत दबाब सिर्जना गरेको छ।
डाक्टर विनय गुप्ताले यस्तो गर्मीको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का र खुकुलो कपडा लगाउन, र अत्यधिक घाम लाग्ने समयमा घरभित्रै बस्न सुझाव दिन्छन् ।
स्थानीय तहहरूलाई प्रभावित क्षेत्रमा पिउने पानी, प्राथमिक उपचार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जानकारहरु बताउछन्।
कतिपय स्थानीय तहले विद्यालयहरूमा गर्मीका कारण बिदा दिसकेको छ भने बिदा नभएका विद्यालयहरुले कक्षा सञ्चालनमा समेत समस्या भोगिरहेका छन्।






