वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी र नगर प्रहरीबीच समन्वय जरुरी रहेको बताउँदै सम्बन्धित निकायलाई सहकार्यको प्रस्ताव राखेका छन्।
बुधबार वीरगन्जको टाउन हलमा सम्पन्न ‘ट्राफिक सप्ताह’ समापन समारोहमा बोल्दै मेयर सिंहले ट्राफिक सुरक्षासँग सम्बन्धित विषयहरूमा स्पष्ट धारणा राखेका हुन्।
उनले ट्राफिक प्रहरीको कार्यप्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै भने, “काम नगर्ने ट्राफिक प्रहरीप्रति गुनासो नगरवासीको रहँदै आएको छ, तर त्यसको दोष ममाथि आइपर्छ, जुन न्यायसंगत होइन।”
ट्राफिक लाइट सञ्चालनबारे उठेका प्रश्नको उत्तर दिँदै उनले भने, “ट्राफिक लाइट जडान महानगरको जिम्मेवारी थियो, तर सञ्चालन र व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीको हो। कहिले बलेको, कहिले नबलेको अवस्थाले नगरवासीलाई असुविधा भयो भन्ने बुझ्छु, र यसमा चाँडो सुधार ल्याउन आग्रह गर्दछु।”
जनशक्ति अभाव भएमा नगर प्रहरीमार्फत सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै उनले ट्राफिक लाइट चाँडै सञ्चालनमा ल्याउन आग्रह गरे।
साथै, मोटरसाइकलको अत्यधिक आवाजले नगरवासीलाई असहज बनाउने विषयमा पनि चिन्ता व्यक्त गर्दै मेयर सिंहले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारवाहीको माग गरे।
“ऐन कानुन अनुसार कारबाही अघि बढाउनुपर्छ, नेताको फोनमा छोड्ने होइन, परिवारलाई जानकारी गराएर जिम्मेवारी तोक्नुपर्छ,” उनले स्पष्ट पारे।
वीरगन्जको ट्राफिक व्यवस्थापन सुधार, सुरक्षित सडक तथा अनुशासित सवारी प्रवृत्तिको विकासका लागि महानगरपालिका सक्रिय रहेको उल्लेख गर्दै मेयर सिंहले ट्राफिक प्रहरीसँग सहकार्य गरेर नागरिकमैत्री परिवेश बनाउने प्रतिवद्धता जनाए।






