वीरगञ्ज । भीषण गर्मीले हैरान पारिरहेका वीरगञ्जवासीलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध गरी झनै सास्ती थपिदिएको छ।
दिनहुँजसो हुने विद्युत् कटौती, कम भोल्टेज तथा अनियमित आपूर्तिका कारण सर्वसाधारणको जीवन प्रभावित भएको छ।
यसले स्वास्थ्य समस्या बढाउनुका साथै घरायसी तथा व्यावसायिक विद्युतीय उपकरणहरूमा समेत क्षति पुर्याइरहेको उपभोक्ताहरूको गुनासो छ।
स्वास्थ्यकर्मीहरूका अनुसार लगातारको गर्मी र विद्युत् कटौतीका कारण वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरूमा डिहाइड्रेसन, उच्च रक्तचाप, निन्द्रा नलाग्ने, चिडचिडापनजस्ता समस्या देखिन थालेका छन्।
उता, सेवाग्राहीहरूले पटक–पटक नेपाल विद्युत् प्राधिकरण वीरगञ्जमा फोन गर्दा कहिले फोन नउठ्ने, कहिले गैर–जिम्मेवारपूर्ण जवाफ पाइने गुनासो गरेका छन्। “समस्या समाधानको सट्टा उल्टै उल्टो जवाफ दिन्छन्,” एक उपभोक्ताले भने, “उनीहरूको व्यवहार अत्यन्तै लापरवाहपूर्ण छ।”
स्थानिय जनताले तत्काल समस्याको समाधान गरी नियमित तथा स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरिरहेका छन्।






