वीरगन्ज । देशभरका सुनचाँदी व्यवसायीले जेठ २९ र ३० गते दुई दिनसम्म सम्पूर्ण सुनचाँदीका पसलहरू बन्द गरी आन्दोलनमा उत्रिएका छन्।
सरकारको पछिल्लो नीतिगत निर्णयप्रति विरोध जनाउँदै सुनचाँदी व्यवसायीहरू देशभर एकजुट भएका छन्। यसै सन्दर्भमा वीरगन्जका व्यवसायीहरूले पनि आफ्नो पसल बन्द गर्दै ऐक्यवद्धता प्रकट गरेका छन्।
विरोधका मुख्य बुँदाहरू:
१. सुनमा लगाइएको २% विलासिता कर र बहुमूल्य धातुमा लगाइएको १३% भ्याट (मूल्य अभिवृद्धि कर) खारेज गर्नुपर्ने।
२. सुनको भन्सार ६% कायम गर्नुपर्ने।
३. सुनचाँदीको कारोबारलाई व्यवस्थित गर्न स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने।
सुनचाँदी व्यवसायी महासंघ, स्थानीय पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालिगढ संघको अगुवाइमा यो आन्दोलन गरिएको हो। व्यवसायीहरूको भनाइमा, सरकारले अव्यावहारिक कर प्रणाली लागू गरेकाले व्यवसाय सञ्चालन असहज बन्दै गएको छ। उनीहरू भन्छन्, “वर्तमान कर संरचनाले सुनचाँदी व्यवसाय धराशायी बनाउने खतरा बढेको छ।”
संघका हरिओम सर्राफका अनुसार पर्सा सुनचाँदी व्यवसायी संघ र पर्सा सुनचाँदी कालिगढ संघले उक्त बन्द कार्यक्रममा ऐक्यवद्धता जनाउँदै सबै व्यवसायीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो। पसलहरू बन्द रहँदा वीरगन्जको मुख्य बजार क्षेत्र शान्त देखिएको छ ।
संघको चेतावनी:
यदि सरकारले व्यवसायीहरूको माग प्रति गम्भीरताका साथ ध्यान नदिएको खण्डमा अझ व्यापक आन्दोलनको घोषणा गरिने व्यवसायीहरूको चेतावनी छ। उनीहरूले यसपटकको बन्दलाई ‘चेतावनीमूलक’ मात्र भनेका छन्।
सुनचाँदी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै व्यवसायीहरूले स्थायित्व, पारदर्शिता र स्पष्ट नीतिगत वातावरणको माग गरेका छन्।






