वीरगन्ज । वीरगन्ज महानगरपालिका–०३ मा स्थापित वीरगन्ज जनस्वास्थ्य प्रयोगशालाले अत्याधुनिक सुविधा र न्यूनतम शुल्कमा रगत परीक्षणका साथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ।
मधेश प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा २०८० सालमा स्थापना गरिएको यो प्रयोगशालाले करिब ७५ प्रतिशत छुटसहितका सेवा प्रदान गरिरहेको छ।
नगरप्रमुख राजेशमान सिंहको विशेष पहलमा सञ्चालनमा आएको प्रयोगशालाबाट दैनिक रुपमा रगत, पिसाब, लिभर, मुटु, मिर्गौला, मधुमेह लगायतका ५४ भन्दा बढी स्वास्थ्य परीक्षणहरू सहज रूपमा उपलब्ध छन्। अधिकांश परीक्षणहरू त्यसै दिन नतिजा प्रदान हुने व्यवस्था गरिएको छ।
सस्तोमा गुणस्तरीय सेवा पाएकोमा वीरगन्जका स्थानीयवासी सन्तुष्ट छन्। HIV, कालाजार र मलेरियाको परीक्षण निःशुल्क रूपमा गरिन्छ। वीरगन्जका स्थानीय मात्र नभई, पर्सा लगायत आसपासका जिल्लाबाट स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीहरूले पनि सोही दरमा सेवा पाउने व्यवस्था गरिएको छ।
नगरप्रमुख राजेशमान सिंहले भने, “हामी नागरिकमुखी सेवा प्रवाहमा विश्वास गर्छौं। स्वास्थ्य सबैको अधिकार हो भन्ने सोचका साथ सबैका लागि सहज र सुलभ प्रयोगशालाको व्यवस्था मिलाइएको हो।”
प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले पनि यो प्रयोगशालाले नगरवासीमाझ स्वास्थ्यप्रति सचेतना बढाएको र सरकारी सेवाप्रति भरोसा उत्पन्न गराएको बताउनुभयो। उहाँले अगाडि थप्नुभयो, “महानगरले सेवा मात्र दिएको छैन, नागरिकप्रति उत्तरदायित्व पनि निभाएको छ।”
वीरगन्ज जनस्वास्थ्य प्रयोगशालाबाट दैनिक सेवा सञ्चालन हुँदै आएको छ र नमुना संकलनदेखि रिपोर्टिङ समयसम्मको प्रक्रिया अत्यन्त छरितो र प्रभावकारी रहेको सेवाग्राहीहरूले बताएका छन्।






