वीरगञ्ज । हाल देशभर गर्मीयामको प्रभावसँगै रक्तदान कार्यक्रमहरुमा कमी आएको हुँदा नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखा अन्तर्गत रहेको रक्तसञ्चार सेवा केन्द्र वीरगञ्जमा रक्त अभावको समस्या देखिएको छ।
उक्त सेवा केन्द्रले दिनहुँ थालासिमिया, क्यान्सर, बालरोग, डायलाइसिस, प्रसूति, एक्सिडेन्टलगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीहरुलाई नियमित रूपमा रक्त सेवा प्रदान गर्दै आइरहेको छ।
गर्मीका कारण संघसंस्थाहरुबाट गरिने रक्तदान कार्यक्रमको संख्या घट्दै गएको र नियमित रक्तदाता पनि उपस्थित नहुँदा अप्ठ्यारो भएको जनाइएको छ।
यस्तो अवस्थामा विभिन्न संघसंस्था, नागरिक समाज तथा सर्वसाधारणलाई रक्तदान गर्न तथा रक्तदान शिविर आयोजना गर्न नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले अनुरोध गरेको छ।
विशेषगरी हरेक महिनाको पहिलो सातामा रक्त अभाव अझ गम्भीर हुने भएकाले नेपाल रेडक्रस सोसाइटीले रक्तदाता महानुभावहरुलाई वीरगञ्जको रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रक्तदान गर्न हार्दिक अपिल गरेको छ।
रक्तदान जीवनदान हो भन्ने सन्देश दिँदै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरि तथा सम्पूर्ण शाखा परिवारले यस अभियानमा सहभागी भइ दिनुहुन सबैमा अनुरोध गरेका छन्।






