बारा । बारा जिल्लाको अमलेखगञ्जस्थित जंगलमा बाख्रा चराउन गएका एक गोठालाको बाघको आक्रमणबाट ज्यान गएको छ।
मकवानपुरको मनहरी गाउँपालिका स्थायी घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बसोबास गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजय राज पण्डितले जानकारी दिए।
भुलन स्थानीय बिरबहादुर थिङका बाख्रा चराउने कामदारका रूपमा कार्यरत थिए। उनी सोमबार चकरी जङ्गलमा ३०–४० वटा बाख्रा लिएर गएका थिए तर साँझसम्म घर फर्किएनन्।
परिवारले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य थालिएको थियो।
खोजीका क्रममा मंगलबार बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक बन क्षेत्रको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा भुलनको शव फेला परेको प्रहरीले जनाएको छ। साथै, घटनास्थलमा जम्मा २७ वटा मात्र बाख्रा जीवित अवस्थामा फेला परेका छन्।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।






