काठमाडौं l बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
‘उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको पर्सा प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् ।
२ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ ।
रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएकी सांसद रायमाझीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।






