पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ मा आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति २२ वर्षीय सफि राजा मियाँ हुन्।
घटना हिजो राति करिब १२ बजेर ४५ मिनेट जाँदा आफ्नै कोठाभित्र भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनामा २१ वर्षीया लालबिबी खातुनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे सूचना प्राप्त गरेलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। घटनास्थलको मुचुल्का तथा शवको पोस्टमार्टम गराइएसँगै घटनामा संलग्न मियाँलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मियाँले हत्या स्वीकार गरेका छन्। उनका अनुसार घर फर्किएपछि आफूलाई वास्ता नगर्ने र राम्रो व्यवहार नगर्ने भएकाले रिसको झोंकमा हत्या गरेको बताइएको छ।
पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ।






