पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. ९ रानिघाट स्थितबाट चोरिएको मोटरसाइकलसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारीअनुसार, यही महिनाको ७ गते दिउँसो करिब ३:३० बजे वीरगञ्ज–९ मा पार्किङ गरिएको प्रदेश प्रदेश ३–०३६ प ८५१७ नम्बरको कालो–रातो रंगको २ सय सिसी क्षमताको एनएस मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल सधैंजस्तै घरअगाडि सडक किनारमा पार्क गरिएको अवस्थामा हराएको थियो।
उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले बारागढी गाउँपालिका वडा नं. ८ निवासी २७ वर्षीय छोटेलाल सहनीलाई पक्राउ गरेको हो। पक्राउ परेका सहनीलाई चोरी गरिएको मोटरसाइकलसहित फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सहनीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।






