वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका कर्मचारीहरूले कानूनीरूपमा प्राप्त गर्नुपर्ने तलब, भत्ता, सेवा सुविधा, सञ्चय कोष, उपदान, ग्रेड तथा खाइपाई आएको तलबसमेत नपाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
कर्मचारीहरूले लामो समयदेखि सम्बन्धित निकायमा मौखिक र लिखित रूपमा पटक–पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आज ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा श्रम तथा रोजगार कार्यालय, वीरगञ्जमा २०८० असोज ७ र २१ गते पेश गरिएको निवेदन र त्यसका आधारमा २०८० चैत २७ र २०८१ माघ २७ गते गरिएको निर्णयअनुसार सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउनुपर्ने निर्णय भएको उल्लेख छ। तर क्याम्पस प्रशासनले अहिलेसम्म उक्त निर्णय कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।
श्रम कार्यालयले क्याम्पस प्रमुखलाई तीनपटक गरी १५, ७ र ३ दिनको समयसीमा तोकी पत्राचार गरेको भए पनि कुनै प्रतिक्रिया नआएको जनाइएको छ। अन्ततः कर्मचारीहरू तीन दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउन बाध्य भएका हुन्। उनीहरूले आगामी तीन दिनभित्र मागअनुसार सुविधा उपलब्ध नगरिए उत्पन्न हुने परिस्थतिको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुख र सञ्चालक समितिको हुने चेतावनी दिएका छन्।
ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले गरेका थिए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारीहरूको माग गम्भीर रहेको भन्दै श्रम कार्यालयका प्रमुखलाई तुरुन्तै टेलिफोनमार्फत आवश्यक निर्देशन दिएका थिए। साथै, प्रजिअ अर्यालले तलब तथा सेवा सुविधामा कुनै प्रकारको सम्झौता हुन नदिइने स्पष्ट पार्दै छिट्टै आवश्यक कदम चालिने आश्वासनसमेत दिएका थिए।
यसबीच, कर्मचारीहरूले क्याम्पस प्रमुख, श्रम तथा रोजगार कार्यालय र सञ्चालक समितिलाई बोधार्थ पत्रसमेत पठाएका छन्। माग सम्बोधन नभए आफूहरू चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।






