Categories समाचार स्वास्थ्य

सस्तो र गुणस्तरीय औषधिका लागि ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने तयारी

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सर्वसाधारणका लागि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यसहित ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।

सोमबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर प्रमुख राजेशमान सिंहले फार्मेसी सञ्चालनको योजना घोषणा गरेका हुन्।

Advertisement

महानगर प्रमुख सिंहका अनुसार ‘महानगर फार्मेसी’ निम्न तथा मध्यम आय भएका नगरवासीलाई लक्षित गरी सञ्चालन गरिनेछ। अत्यावश्यक र सामान्य प्रयोग हुने औषधिहरू सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिने फार्मेसीले नागरिकको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।

Advertisement

प्रमुख सिंहले औषधि आपूर्ति, भण्डारण र वितरण प्रक्रिया पूर्णतः पारदर्शी र नियमनसम्मत तरिकाले सञ्चालन गरिने जानकारी दिए। उनले भने, “सस्तो मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउन सक्नु भनेको आमनागरिकको स्वास्थ्यमा प्रत्यक्ष लगानी गर्नु हो।”

महानगरले यसअघि स्थापना गरेको ‘वीरगञ्ज स्वास्थ्य प्रयोगशाला’मार्फत रगत परीक्षण लगायतका सेवाहरू करिब ७५ प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ। अब ‘महानगर फार्मेसी’ को थालनीसँगै नागरिकहरूलाई थप सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

नगरवासीले पनि फार्मेसी स्थापनाको योजनालाई स्वागत गरेका छन्। उनीहरूका अनुसार यस्तो जनमुखी योजना लागू हुनुले स्वास्थ्य उपचारमा लाग्ने खर्चमा राहत मिल्नेछ।

नगरप्रमुख सिंहको नेतृत्वमा वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय स्वास्थ्य, शिक्षा, पूर्वाधार र स्वच्छता क्षेत्रलाई प्राथमिकतामा राख्दै जनताको जीवनस्तर उकास्ने उद्देश्यले विविध कार्यक्रम अघि सारेको छ। नगरवासीको विश्वास र साथका कारण यी योजनाहरू सार्थक बन्ने प्रमुख सिंहको अपेक्षा छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *