Categories स्वास्थ्य

गर्मीका कारण रक्त अभाव, गहवामाई मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज । गर्मीयाममा उत्पन्न भएको रगतको अभावलाई सम्बोधन गर्न गहवामाई तीर्थ क्षेत्र विकास समितिको पहलमा तथा श्री गहवामाई रथ यात्रा २०८२ को सन्दर्भमा आज (बुधवार) आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो।

Advertisement

नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र, पर्साको अपिललाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा “रक्तदान जीवनदान हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै समाजसेवी, श्रद्धालु, युवा र स्वास्थ्यप्रेमीहरूले उल्लेखनीय सहभागिता जनाएका थिए।

Advertisement

गर्मीको कारणले नियमित रक्तदाताको संख्यामा आएको गिरावटलाई सन्तुलनमा ल्याउने उद्देश्यले गरिएको यस अभियानमार्फत समाजमा सकारात्मक सन्देश फैलिने अपेक्षा गरिएको छ।

कार्यक्रममा ४ जना महिला सहित ४२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे र नितेश यादवले प्राविधिक सहयोग गरेका थिए।

उक्त कार्यक्रमको अध्यक्षता गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले गरेका थिए भने सामाजिक अभियन्ता राजन श्रीवास्तवले यस्तो कार्यक्रमले समाजमा मानवसेवा र सामाजिक उत्तरदायित्वप्रतिको चेतनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *