Categories समाचार

पत्रकारिताको आडमा रुपाखेतीद्वारा वर्षाैंदेखि कब्जा गरिएको क्लबघर अब स्थानीयको जिम्मामा

Advertisement

वीरगंज । सार्वजनिक हितका लागि निर्माण गरिएको नारायणी स्पोट्र्स क्लब वर्षाैंसम्म निजी स्वार्थले कब्जामा रहँदै आएकोमा अन्ततः वीरगंज महानगरपालिका–५ को पहलमा क्लबलाई मुक्त गराउँदै स्थानीय समुदायको स्वामित्वमा पुनःस्थापित गरिएको छ ।

आफूलाई वरिष्ठ पत्रकार, लेखक र स्तम्भकारका रूपमा चिनाउँदै आएका कुमार रुपाखेतीले क्लब भवनलाई लामो समयदेखि व्यक्तिगत रुपमा नियन्त्रणमा राख्दै आएका थिए ।

Advertisement

क्लब भवन सार्वजनिक उद्देश्यका लागि निर्माण गरिएको भए पनि उनले प्रयोग गर्न नदिई कब्जामा राख्दै आएका थिए ।

Advertisement

वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा वडाका भद्रभलाद्मी, जनप्रतिनिधि तथा नगर प्रहरीको उपस्थितिमा क्लब भवनको ताल्चा खोल्दै यसलाई औपचारिक रूपमा वडा कार्यालयको मातहत ल्याइएको हो । यो प्रक्रिया वडाले अतिक्रमण विरुद्ध लिएको कडा निर्णयका रूपमा हेरिएको छ ।

वडाले यसअघि धेरै पटक सार्वजनिक सूचना जारी गर्दै क्लबको चाबी फिर्ता गर्न अनुरोध गरेको थियो । तर लगातार बेवास्ता भएपछि वडास्तरीय छलफल र सर्वसम्मत निर्णयअनुसार प्रत्यक्ष हस्तक्षेप गर्दै सार्वजनिक सम्पत्तिमा नागरिकको स्वामित्व सुनिश्चित गरिएको वडा अध्यक्ष चौरसियाले जानकारी दिए ।

उनका अनुसार, ‘कसैले पनि पत्रकार भएको नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्न सक्दैन । अरूलाई आरोप लगाउनेहरू आफैं अनैतिक क्रियाकलापमा संलग्न हुनु दुःखद हो । अब क्लब वडाबासीको हितमा, पारदर्शी रूपमा सञ्चालन हुनेछ ।’

नारायणी स्पोट्र्स क्लबको तीन तले भवन पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य लालबाबु राउत गद्दीको संसदीय विकास कोषमार्फत ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । क्लब सञ्चालनका लागि वीरगंजका समाजसेवी रवी विक्रम शाह (शिव राजा)ले जग्गा दान गरेका थिए ।

भवनको ग्राउण्ड फ्लोर २०८० र बाँकी २ तला २०८१ मा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न पछि २०८१ मंसिर १ गते पूर्व मुख्यमन्त्री गद्दीले उद्घाटन गरेका थिए । तर उद्घाटनपछिदेखि नै रुपाखेतीले भवन आफ्नो नियन्त्रणमा राखी संस्थागत उद्देश्य विपरित प्रयोग गर्दै आएका थिए ।

क्लबको भावी सञ्चालन वडास्तरीय समिति र स्थानीय समुदायको प्रत्यक्ष निगरानीमा पारदर्शी ढंगले गरिने वडा कार्यालयले स्पष्ट पारेको छ । खेलकुद प्रवद्र्धन, युवा सशक्तिकरण र सामाजिक गतिविधिका लागि यो क्लबलाई केन्द्र बनाउने योजना रहेको छ ।

अध्यक्ष चौरसिया भन्छन्, ‘हामीले केवल एक भवन मात्र फिर्ता ल्याएका छैनौं, वडाबासीको हक, आवाज र गरिमालाई पुनस्र्थापित गरेका हौं ।’

स्थानीय समुदायले क्लबको पुनःस्थापनालाई ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन् । क्लब अब सबैका लागि खुला हुने र सामूहिक प्रयोगमा आउने भन्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय युवा शुभम यादव भन्छन्, ‘कसैले पनि सार्वजनिक सम्पत्तिमा कब्जा जमाएर बसेको अवस्था देख्दा हामी निराश थियौं । अहिले वडा कार्यालयको दृढ निर्णयले हामीलाई गर्वको अनुभूति भएको छ ।’
अर्का स्थानीय नागरिक गीता देवीका अनुसार, ‘अब हाम्रो छोराछोरीलाई आफ्नो टोलमै खेलकुद र सिर्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर मिल्ने भयो । क्लब साँच्चिकै अब समुदायको निधि बन्नेछ ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *