Categories समाचार

५० लाखको बजेट, २५ हजारको पुरस्कार: जनकपुर कबड्डी प्रतियोगितामाथि खेलाडी र सञ्चारकर्मीको प्रश्न

Advertisement

वीरगन्ज । मधेश प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजनामा जनकपुरधामको मिथिला अवध धर्मशालामा दुई दिवसीय अन्तर-प्रदेशीय राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको आज दिउँसो मुख्यमन्त्री सतिश कुमार सिंहले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

मधेश खेलकुद परिषद् जनकपुरधाम तथा मधेश प्रदेश कबड्डी संघको सहकार्यमा सम्पन्न हुने प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोलीहरूको सहभागिता रहनेछ। परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रतियोगिता कबड्डी तथा समग्र खेलकुद विकासका लागि आयोजना गरिएको जानकारी दिए।

Advertisement

प्रतियोगिताको विजेता टोलीलाई २५ हजार, उपविजेता टोलीलाई १५ हजार तथा तेस्रो हुने टोलीलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ। यद्यपि, प्रतियोगिता आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको सन्दर्भमा पुरस्कार राशी अत्यन्त न्यून रहेको भन्दै पत्रकारहरूले आयोजकमाथि प्रश्न उठाएका छन्।

Advertisement

सदस्य सचिव कानुले भने, “खेलकुद कार्यविधिअनुसार नै पुरस्कार निर्धारण गरिएको हो। पहिलो स्थानका लागि २५ हजार नै नियमअनुसार हो।”

तर प्रतियोगितामा भाग लिन देशका विभिन्न प्रदेशबाट आएका खेलाडीहरू भने यस्तो निर्णयप्रति निराश देखिएका छन्। पुरस्कार राशीको पूर्व जानकारी नदिई बोलाइएको भन्दै उनीहरूले मनोबल घटेको गुनासो गरेका छन्।

गण्डकी प्रदेश कबड्डी संघका उपाध्यक्ष कृष्ण पाण्डेले भने, “खेलाडीलाई पुरस्कारले ऊर्जा दिन्छ। ५० लाख बजेटको प्रतियोगितामा २५ हजारको पुरस्कार सुन्नु निकै निराशाजनक हो। हामी सबैथोक राम्रै होला भनेर आएका थियौं, तर अहिले थाहा पाउँदा आशा मरेको छ।”

त्यसैगरी, लुम्बिनी प्रदेशका टोली नेता विनय कुमार कोइरिले पनि पुरस्कारको स्तरप्रति गुनासो पोख्दै भने, “यस्तो न्यून पुरस्कारले उत्साह मार्छ। ठूलो बजेटमा नाम मात्रको कार्यक्रम गरेर भ्रष्टाचार गर्न खोजिएको आशंका जन्मिएको छ।”

प्रतियोगिता सुरु हुनुअघि नै पुरस्कार राशी र पारदर्शितामाथि उठेको आलोचनाले आयोजकहरूलाई कठिन मोडमा पुर्याएको छ। खेलाडी र खेलप्रेमीहरूले यस्ता कार्यक्रम पारदर्शी, समुचित पुरस्कारसहितको, र खेलाडीमैत्री बनाइनुपर्नेमा जोड दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *