काठमाडौँ । वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान सिंहले प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भलाकुसारी गर्दै वीरगञ्जको समसामयिक समस्या तथा चौतर्फी विकासका लागि विशेष आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नगर प्रमुख सिंहले वीरगञ्जलाई औद्योगिक, व्यापारिक, तथा पूर्वाधारको दृष्टिकोणले देशकै महत्वपूर्ण केन्द्र बनाउने कार्यलाई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए।
उनले वीरगञ्जको सडक सञ्जाल विस्तार, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर विस्तारजस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरे।
प्रधानमन्त्री ओलीले वीरगञ्जको विकासका लागि संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय सरकारको सक्रियता र जनप्रतिनिधिहरूको समर्पणले समृद्ध नगर निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
भेटपछि नगर प्रमुख सिंहले बालुवाटार परिसरमा प्रधानमन्त्रीसँगका केही तस्बिरहरू सार्वजनिक गर्दै भेटलाई ‘सकारात्मक र उत्साहजनक’ बताएका छन् ।
वीरगञ्जको समग्र विकासका लागि स्थानीय र संघीय सरकारबीच समन्वयात्मक प्रयास आवश्यक रहेको भन्दै प्रमुख सिंहले आगामी दिनमा अझ सशक्त रूपमा विकास अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।






