वीरगञ्ज । वीरगञ्ज पब्लिक स्कूल (बिपिएस) +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गरी एकदिने मोटिभेसनल ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ।
वीरगञ्ज–९ रानीघाटस्थित रहेको कलेजले होटल भिषवामा सम्पन्न गरेको कार्यक्रममा विद्यार्थीको व्यक्तित्व विकास, लक्ष्य निर्धारण र सामाजिक चेतना अभिवृद्धि गर्न विविध विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको अध्यक्षता बिपिएस +२ कलेजका शैक्षिक निर्देशक दीपक पटेलले गरेका थिए। प्रमुख अतिथिका रूपमा पर्साका प्रहरी प्रमुख गौतम मिश्र तथा विशिष्ट अतिथि उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरिप्रसाद गौतमको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य बोर्ड अफ डाइरेक्टर सदस्य राजेन्द्र चौधरीले राखेका थिए।
प्रमुख अतिथि प्रहरी प्रमुख मिश्रले विद्यार्थीहरूलाई आजको पुस्ताले पाएको प्रविधि, शिक्षा र सूचनाको सहज पहुँचको सदुपयोग गर्न आग्रह गरे। उनले बालविवाह, दाइजो प्रथा, लागूऔषध दुर्व्यसन र अनलाइन ठगीजस्ता सामाजिक विकृति तथा आपराधिक गतिविधिबाट टाढा रहन सचेत गराए।
“आजको विद्यार्थीले स्मार्ट फोन, इन्टरनेट र डिजिटल सामग्री सहजै पाएका छन्। तर, यी सुविधा दुरुपयोग भए भविष्य नै जोखिममा पर्न सक्छ,” मिश्रले भने।
कार्यक्रममा बिपिएसका एचआर डाइरेक्टर सन्दीप कुशवाहाले विद्यार्थीको आत्मविश्वास, सकारात्मक सोच र निरन्तर मिहिनेतले मात्र दीर्घकालीन सफलता सम्भव हुने धारणा राखे।
“आत्मअनुशासन, समय व्यवस्थापन र स्पष्ट लक्ष्यप्रति प्रतिबद्धता नै जीवन परिवर्तनको आधार हो,” उनले भने।
प्रशिक्षकका रूपमा उपस्थित मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश मानवसेवाले विद्यार्थीलाई आफ्नो भविष्यप्रति सजग रहन, जीवनमा उद्देश्य स्पष्ट पार्न र सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बन्न आग्रह गरे।
“विद्यार्थी जीवनमा बनाइएको सोच र मूल्य नै भविष्यको दिशा हो। अहिलेको प्रयत्नले नै जीवनको आधार बनाउँछ,” उनले जोड दिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आत्मबल बढाउने, सोचमा परिवर्तन ल्याउने र जिम्मेवार नागरिक बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्।
समापनमा शैक्षिक निर्देशक दीपक पटेलले धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ प्रभावकारी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।






