Categories समाचार

लागूऔषध गाँजासहित बारामा चार जना पक्राउ

बारा । बारामा लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले पिकअप गाडीबाट ठूलो मात्रामा गाँजा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मकवानपुरबाट बाराको परवानीपुर गाउँपालिका–५ अन्तर्गत बहुअरी कलैया–गण्डकतर्फ जाँदै गरेको प्रदेश ३–०१–२४ च ४६३० नम्बरको सेतो रङको पिकअप गाडीलाई शंका लागी रोकी चेकजाँच गर्दा, धानको भुसका बोराभित्र लुकाई छिपाई ल्याइँदै गरिएको लागूऔषध गाँजा फेला परेको हो।

Advertisement

बरामद गरिएको गाँजाको तौल २ सय १२ किलो ९ सय २८ ग्राम रहेको छ।

Advertisement

पक्राउ परेका व्यक्तिहरूमा पिकअप चालक मकवानपुर थाहा नगरपालिका–४, पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही जिल्लाको टिस्टुङ बस्ने ४६ वर्षीय वीरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४, उत्तरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७, आपसीचोक बस्ने ३१ वर्षीय महेश तामाङ रहेका छन्।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *