Categories समाचार

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण सम्पन्न

Advertisement

वीरगञ्ज । नेशनल मेडिकल कलेज, वीरगञ्जमा स्नातकोत्तर (पिजी) तहका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा पिजी अध्ययनका लागि नवभर्ना भएका ५३ जना विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक मार्गनिर्देशन प्रदान गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवआगन्तुक विद्यार्थीहरूलाई चिकित्सा शिक्षामा समर्पण, अनुशासन र निरन्तर अभ्यास आवश्यक भएको सुझाव दिनुभयो। उहाँले नेपालमा चिकित्सा शिक्षा दिनानुदिन गुणस्तरीय र प्रतिस्पर्धात्मक बन्दै गएको उल्लेख गर्दै स्नातकोत्तर तहमा झन् बढी परिश्रम गर्नुपर्ने बताउनुभयो।

Advertisement

“पचास वर्ष अघि पोस्ट ग्राजुएट अध्ययनका लागि भारत जानुपर्थ्यो, त्यो समय निकै कठिन थियो,” उहाँले भन्नुभयो, “आज नेपालमै सहज र गुणस्तरीय शिक्षा उपलब्ध छ। विशेषगरी महिला विद्यार्थीहरूको सहभागिता हर्षजनक रूपमा बढेको छ। सर्जरी र एनेस्थेसिया जस्ता विषयमा पनि महिलाहरूले उत्कृष्टता देखाइरहेका छन्।”

Advertisement

प्रा.डा. अन्सारीले आगामी तीन वर्षको अध्ययन, व्यवहार र लगनशीलताले विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने भन्दै बिरामीप्रति संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले थपे, “तपाईंहरूको पेशागत भविष्य तपाईंहरूको हालको अध्ययन र सेवाभावमा निर्भर छ।”

कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले पिजी विद्यार्थीहरूलाई चिकित्सा सेवा मानव सेवा हो भन्ने बुझाइका साथ कार्य गर्न सुझाव दिनुभयो। “बिरामी तपाईंहरूको पुस्तक हो, सबैको लक्षण फरक हुन्छ, तर निदान सटीक हुनैपर्छ,” भन्दै उहाँले चिकित्सा पेशामा मानवीयता कहिल्यै नबिर्सन आग्रह गर्नुभयो।

नेपालमा पछिल्लो समय चिकित्सा सेवा सम्बन्धी कानुनी चुनौतीहरू पनि बढिरहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक अन्सारीले रेजिडेन्ट चिकित्सकहरूलाई उपचारको सम्पूर्ण प्रक्रियामा विशेष जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। कलेजले विद्यार्थीहरूको अध्ययन, अनुसन्धान र शैक्षिक प्रगतिमा पूर्ण साथ र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. के.एन. सिंह, मार्केटिङ तथा भर्ना निर्देशक आबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, बिडिएस भाइस प्रिन्सिपल प्रा.डा. सरोज प्रसाद देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ, नर्सिङ भाइस प्रिन्सिपल प्रा.डा. बबिता सिंह, प्रमुख पिजी संयोजक प्रा.डा. रवि कुमार शाहलगायत पिजी संकाय प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन कलेजमा अध्ययनरत छात्रा आयुष्मा महतो र एश्वर्या वेनेसाले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *