वीरगंज । वीरगंज महानगरपालिकाले विभिन्न वडा तथा टोलमा रहेको सरकारी जग्गा अतिक्रमण हटाएर राज्यको स्वामित्वमा ल्याउने अभियानलाई निरन्तरता दिइरहेको छ ।
प्रमुख राजेशमान सिंहको नेतृत्वमा जारी यस अभियान अन्तर्गत अहिले त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक क्षेत्रमा रहेको अतिक्रमित सरकारी जग्गा हटाउने काम भइरहेकाे छ ।
यसै सन्दर्भमा वीरगंज महानगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले सडकको चौडाइको बहानामा सरकारी जग्गा अतिक्रमण गर्नु कदापि स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले भने, “विषय सडक कति मिटर चौडा आवश्यक छ भन्ने मात्र होइन, मुख्य विषय सरकारी जग्गाको हो । अतिक्रमण हटाउनु कानुनी दायित्व हो ।”
उनले सडक अत्यधिक चौडो आवश्यक छैन भन्ने कुतर्क गरेर सरकारी जग्गा कब्जा गर्ने अभ्यास उचित नभएको जनाए । “सरकारी अतिक्रमित जग्गा छोड्नुपर्छ, त्यसमा दुवैतर्फ खुला र चौडा फुटपाथ तथा वृक्षारोपण गर्न सकिन्छ । जुन आधुनिक र सुन्दर शहरको न्यूनतम मापदण्ड पनि हो,” घिमिरेले बताए ।
घिमिरेले वर्षौंदेखि निशुल्क उपभोग गर्दै आएको सरकारी जग्गा र त्यसबाट भएको आम्दानी गुमाउने पक्षलाई रिस उठ्नु स्वाभाविक भए पनि जनप्रतिनिधिप्रति प्रयोग गरिने भाषा संयमित हुनुपर्नेमा जोड दिए । उनले चेतावनी दिँदै भने, “यदि समग्र वीरगंजवासीहरूले तपाईंहरूकाे प्रतिकारमा उत्रिए भने के हुन्छ, सोच्नुस् । जनप्रतिनिधि भनेको सार्वभौम सत्ता सम्पन्न नागरिकद्वारा निर्वाचित व्यक्तित्व हो, त्यसप्रति सम्मान आवश्यक छ ।”
स्वकीय सचिव घिमिरेले अतिक्रमण गरेर बसेका भाडावाल व्यवसायीहरूलाई पनि लक्षित गर्दै भने, “तपाईंहरूले कोरोना जस्तो महामारीमा समेत भाडामा एक रुपैयाँ छुट दिनु भएन । यस्तो अवस्थामा सहानुभूति पाउने ठाउँ तपाईंहरूले आफैँ राख्नुभएको छैन ।”
उनले वीरगंजको विकासका लागि मार्ग प्रशस्त गर्न सबै पक्षलाई आग्रह गरे । “वीरगंजको समग्र विकासका लागि अवरोध होइन, साथ दिनुस्,” उनले अन्त्यमा भने ।






