Categories हाइलाइट-समाचार

धार्मिक उत्सवमा हिंसात्मक मोड : वीरगंजमा प्रहरी किच्ने गरी गाडी हुइक्याउने प्रयास

Advertisement

वीरगंज । मुस्लिम समुदायको पवित्र पर्व मोहर्रमको अवसरमा आइतबार वीरगंजमा निकालिएको ताजिया (दाहा) र्यालीमा सुरक्षाकर्मीहरूमाथि नै गाडी हुइक्याउने प्रयास भएको पाइएको छ।

Advertisement

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईले सुरक्षाकर्मीमाथि गाडी चलाएको घटनासँग मिल्दोजुल्दो दृश्य आइतबार वीरगंजमा देखिएको हो ।

Advertisement

ताजिया र्याली छपकैयाबाट सुरु भई आदर्शनगर चोक हुँदै अघि बढिरहेको थियो ।

Advertisement

सोही क्रममा कैलाश होटल चोकमा तैनाथ सुरक्षाकर्मीहरूले रोक्न खोजेपछि काठमाण्डौमा दुर्गा प्रसाईकै स्टाइलमा वीरगंजमा नेपाली कांग्रेसका नेता समेत रहेका महम्मद साहबुद्दिनले नेतृत्व गरेर र्यालीलाई तोकिएको मार्ग विपरीत आदर्शनगर रंगशालातर्फ लैजान जबरजस्ती प्रयास गरे । उनकै निर्देशनमा गाडीले प्रहरीलाई किचौंला झै गरेर अघि बढ्यो ।

सर्वदलीय सहमति अनुसार पुरानो बसपार्कको खाली स्थानमा मात्र लाठी भाज्ने कार्यक्रम गर्न अनुमति दिइएको थियो। तर र्यालीमा प्रयोग भएको ना ४ च ८८३४ नम्बरको डिजेसहितको पिकअप गाडीले प्रहरीले बाटो छेकिरहेकै अवस्थामा दर्जनौँ सशस्त्र प्रहरीमाथि गाडी हुइक्याउने प्रयास गर्‍यो। प्रहरीहरूले ज्यान जोगाउन बाटो छोड्नुपर्‍यो।

गाडीले प्रहरीमाथि नै चढाउने शैलीमा हुइक्याउनु अत्यन्त गम्भीर र अराजक क्रियाकलाप भएको पर्सा प्रहरीले जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले घटनालाई गम्भीर रूपमा लिइएको जनाउँदै भने, “ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि जानाजान गाडी हुइक्याउनु गम्भीर आपराधिक कार्य हो । दोषी पहिचान गरी कानुनी कारबाही हुन्छ।”

उनले थपे, “तोकिएको रुट छोडेर र्याली जबरजस्ती आदर्शनगर रंगशालातर्फ मोडिएको थियो । प्रहरीले रोक्ने प्रयास गर्दा यस्तो घटना भएको हो ।”

यसअघि बिहीबार वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले दाहाको लाठी भाज्ने कार्यक्रम पुरानो बसपार्कको खाली जग्गामा मात्रै गर्न दिने सहमति गरेको थियो। तर आइतबारको र्याली सो निर्णय विपरीत रंगशालातर्फ जबरजस्ती अघि बढाइएको हो।

रंगशाला छिर्न खोज्दा प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो। त्यसपछि भीड तितरबितर भई गाडी छाडेर भागेका थिए । प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएर साँझपख सम्बन्धित धनीलाई बुझाएको जनाएको छ।

प्रहरीका अनुसार माईथान चोकमा पनि र्यालीका क्रममा केही व्यक्तिले उच्छृंखलता देखाएका थिए, सो घटनाबारे पनि अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुमानमा केही व्यक्तिहरू जानाजान सामाजिक सद्भाव विगार्ने उद्देश्यले प्रेरित भएर यस्तो गतिविधिमा संलग्न भएका हुनसक्ने आशंका गरिएको छ।

स्थानीय प्रशासनले सामाजिक सद्भाव खलल पुर्‍याउने यस्ता कुनै पनि गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्ने चेतावनी दिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *