वीरगञ्ज । चिकित्सकीय पेशामाथि भइरहेका निरन्तर आक्रमण र दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण नियमित सेवा बन्द गरेको छ।
संघको केन्द्रीय कार्यालयद्वारा असार २० गते जारी विज्ञप्तिअनुसार व्यावसायिक स्वतन्त्रता, सुरक्षित चिकित्सा अभ्यास र चिकित्सकीय मर्यादाको रक्षार्थ चरणबद्ध संघर्ष कार्यक्रम सुरु गरिएको हो।
नेपाल चिकित्सक संघ, नारायणी शाखाले आन्दोलनलाई पूर्णरूपमा सफल पार्न सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित संस्थाहरूलाई जिम्मेवार भएर एकजुट हुने अपिल गरेको छ।
संघले आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू पनि सार्वजनिक गरिने जनाएको छ।
संघका अध्यक्ष डा. मनोज कुमार गुप्ता र सचिव डा. नौसाद हकले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो यो शान्तिपूर्ण संघर्ष व्यावसायिक स्वतन्त्रता, सुरक्षित चिकित्सा अभ्यास र चिकित्सकीय मर्यादाको रक्षाका लागि हो।”
संघले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई ऐक्यबद्धता जनाउँदै निरन्तर सहयोगका लागि हार्दिक आह्वान गरेको छ।







